loader

Breaking News

नगरकट्टाको धरनीपुरमा कमान छोडी भागे म्यानेजर : श्रमिकहरू बने हताश

Image
 

डुवर्सको नगरकट्टा ब्लकको धरनीपुर चियाकमानका म्यानेजर कमान छोडेर भागेपछि चियाश्रमिकहरू हताश बनेका छन्। उल्लेखनीय छ, डुवर्सको नगरकट्टा ब्लकअन्तर्गत पर्ने धरनीपुर चियाकमानमा श्रमिकहरू 20 प्रतिशत बोनसको माग गर्दै बुधबार बिहानदेखि नै धरना प्रदर्शन गरिरहेका थिए। 
राज्य सरकारको एड्भाइजरीअनुरूप नै चियाश्रमिकहरूलाई 20 प्रतिशत बोनस दिइनु पर्ने धरनीपुर चियाकमानका श्रमिकहरूले लगातार माग गरिरहेका छन्। तर दुर्गा पूजानजिकै आइसक्दा पनि कमान प्रबन्धन पक्षले बोनसलाई लिएर कुनै तयारी गरेको नदेखिपछि बुधबारदेखि यहाँका श्रमिकहरू धरना प्रदर्शनमा ओर्लिएका हुन्। बुधबार बिहानदेखि प्रदर्शन गर्दै श्रमिकहरू रातभरि त्यहीँ सुतेर हालसम्म पनि धरना प्रदर्शनमा रहेका छन्। तर कमानका म्यानेजर भने बङ्गलोको पछाडिपट्टि काठले बनिएको पर्खाल तोडेर भागेको जानकारी पाएपछि श्रमिकहरू हताश बनेका छन्। चियाश्रमिकहरूले प्रत्येक वर्ष पूजा बोनसमा मालिक पक्षले आफूहरूलाई यसरी नै समस्यामा पार्ने गरेको गुनासो पोख्दै यो समस्या 2002 देखि भोग्दै आएको बताएका छन्। 
धेरै समय बन्द अवस्थामा रहेको यस कमानमा समय-समयमा विभिन्न फाइनान्सरहरू आएर चियाकमानलाई सञ्चालन गरे पनि कमानको समस्या अहिलेसम्म पनि समाधान भएको छैन। केही वर्षअघि आधिकारिक रूपमा यहाँ मालिक आएको र अबउसो उसैले कमान सञ्चालन गर्ने घोषणा पनि गरिएको थियो। तर अहिले आएर कमानमा कोही मालिक नरहेको र फाइनान्सरले नै कमान चलाइरहेको जानकारी श्रमिकहरूले पाएका छन्।
श्रमिकहरूले राज्य सरकार र प्रशासनले आफ्नो हक र अधिकार जसरी पनि दिनुपर्छ भन्दै जबसम्म बोनस दिइँदैन तबसम्म धरना प्रदर्शन जारी राख्ने स्पष्ट बताएका छन्।


Leave a Comment